खण्ड ४.२ भीष्मस्तुति

Image for खण्ड ४.२ भीष्मस्तुति

११.भीष्म स्तुति

प्रथम स्कन्द, नवम अध्याय

पृष्ठभूमि:

कुन्तिजीको स्तुति पछि लगत्तै यो स्तुति श्रीमद्भागवतमा आउछ, त्यसैले लामो पृष्ठभुमि भनि रहनु पर्दैन।  भन्नै पर्ने विषय हो -भगवान कृष्ण द्वारका फर्किनु भन्दा पहिले भगवान कृष्ण  स्वयम् नै भीष्मजी लाई भेट्न जानु हुन्छ ।  इच्छामरण भएकोले वहाँ उत्तरायणको पर्खाइमा प्राण त्यागि रहनु भएको थिएन।  वहाँ भगवानको परम भक्त हुनुहुन्थ्यो। वहाँ (भीष्म), प्रह्लाद, नारद, पराशर, पुण्डरीक, व्यास  अम्बरीष, शुक, शौनक,  दाल्भ्य, रुक्माङ्गद, अर्जुन (सहस्रवाहू अर्जुन)  वशिष्ठ, र विभीषण जस्तै १४ महभागवत मध्ये एक हुन्छ :

प्रह्लाद नारद पराशर पुण्डरीक-

व्यासाम्बरीष शुकशौनक भीष्मदाल्भ्यान्।

रुक्माङ्गदार्जुन वशिष्ठ विभीषणादीन्

पुण्यानिमान् परमभागवतान् नमामि॥ (पाण्डव गीता, १)

 

भीष्मजी यस्तै भागवत र शरणागत-आत्मा भएकोले भगवान भेट्न जानु हुन्छ। भक्त मात्र भगवान तिर धाउने होइन भगवान पनि भक्त खोज्दै जानु हुन्छ अन्तिम क्षणमा। सवै पाण्डववीरसंग त्यहाँ गएका बेला भीष्मजीले  युधिष्ठिर लाइ राजकाज र धर्मको उपदेश गरि सकेपछि कृष्णलाइ आफ्नो फुफुको पुत्रको रुपमा नसोच्न भन्दै कृष्ण परम तत्व भएको उपदेश गर्नु हुन्छ। र  भन्नु हुन्छ: 

स देवदेवो भगवान् प्रतीक्षतां कलेवरं यावदिदं हिनोम्यहम् ।

प्रसन्नहासारुणलोचनोल्लसन्मुखाम्बुजो ध्यानपथश्चतुर्भुज: ।। (२४ )

(ति देवहरुका देव जसको राता आँखा र सुखद हासोँ युक्त  फक्रदै गरेको कमलका समान मुखमंडल छ, जो चतुर्भुज हुनुहुन्छ, र जो ध्यानको पथ हुनहुन्छ, मैले यो नश्वर शरीर नत्याग्दा सम्म मलाई पर्खि रहुन।)

 

भीष्मजी शरशैया (बाणको ओछ्यान) हुनुहुन्छ, चटपटाउन सक्नुहुन्न, हात उठाएर भगवानलाइ नमनगर्न  पनि सक्नु हुन्न, हातमा पुष्प लिएर त्यसैले प्रार्थना गर्ने त सम्भावना नै थिएन। विद्वानहरुको भाव छ पुष्प लिन नसके पनि वहाँले त्यसैले पुस्पिताग्र छन्दमा भगवानलाइ प्रार्थना गर्नु भएको छ।  यो स्तुति गोपिका गीत जस्तै प्रिय छ भक्त/भागवतहरु बीच।  निकै भाव सहित गाइने गरिन्छ।

 

 

श्लोक

अर्थ

श्रीभीष्म उवाच
इति मतिरुपकल्पिता वितृष्णा
भगवति सात्वतपुङ्गवे विभूम्नि
स्वसुखमुपगते क्‍वचिद्विहर्तुं
प्रकृतिमुपेयुषि यद्भ‍वप्रवाह: ३२

भीष्मजी भन्नु हुन्छ

मेरो यो उमेर सम्म आइपुग्दा मैले बिभिन्न उपायबाट मेरो निस्काम बुद्धि यदुश्रेष्ठ सर्व व्यापक (श्री कृष्ण ) भगवानमा समर्पित गरेको छु।  वहाँ आफ्नो परमानन्दमा मग्न हुदा हुदै पनि कुनै कुनै लिलागर्न मायालाई स्विकार्नु हुन्छ। 

त्रिभुवनकमनं तमालवर्णं
रविकरगौरवराम्बरं दधाने
वपुरलककुलावृताननाब्जं
विजयसखे रतिरस्तु मेऽनवद्या ३३

तिनै लोकमा सवै भन्दा सुन्दर, तमाल समान निलो बर्ण तथा सुर्यका किरण समान चम्कने पीतबस्त्र धारी, घुमेको कपाल बाट शोभायमान कमलको जस्तै मुख भएका, अर्जुनका सखा संग मेरो निस्काम प्रिती (प्रेम/भक्ति)  रही रहोस। 

युधि तुरगरजोविधूम्रविष्वक्-
कचलुलितश्रमवार्यलङ्‍कृतास्ये
मम निशितशरैर्विभिद्यमान-
त्वचि विलसत्कवचेऽस्तु कृष्ण आत्मा ३४

महाभारत युद्धमा घोडाहरुको खुरको धुलोले जसको वर्ण अलिक धुस्रे धुस्रे  देखिन्थ्यो, जसको मुखमा भक्तवत्सलता जनाउने सेता सेता विन्दुहरु देखिन्थे, मेरा तिखा वाणहरुले जसको छाला छेडिएको थियो, र जसको कवच वाणको वर्षाको कारणले क्षतविक्षत भएको थियो, त्यस्ता कृष्णमा मेरो मन डुली रहोस।

सपदि सखिवचो निशम्य मध्ये
निजपरयोर्बलयो रथं निवेश्य
स्थितवति परसैनिकायुरक्ष्णा
हृतवति पार्थसखे रतिर्ममास्तु ३५

आफ्ना मित्र अर्जुनको बचन सुनेर कौरव र पाण्डवका सेनाको बिचमा रथ उभ्याएर र कालादृष्टि वाट  शत्रुका सैनिकको आयु हरण गर्दै अर्जुन सखा संग मेरो प्रिती रहीरहोस। 

व्यवहितपृतनामुखं निरीक्ष्य
स्वजनवधाद्विमुखस्य दोषबुद्ध्या
कुमतिमहरदात्मविद्यया -
श्चरणरति: परमस्य तस्य मेऽस्तु ३६

 युद्धको वेलामा मलाई र गुरु द्रोणाचार्यलाइ सेनाको अग्रपंक्तिमा देखेर आफन्तहरुको संहार दोषपूर्ण ठान्ने (अर्जुन) र 'म नै कर्ता हुँ ' भाव र वुद्धि भएका (अर्जुन ) को जसले आत्म विद्याको उपदेश दिएर भ्रम निवारण गर्नु भयो, त्यस्ता परमात्मा (श्री कृष्ण )का युगल चरणमा मेरो प्रिती/प्रेम होस्। 

स्वनिगममपहाय मत्प्रतिज्ञा-
मृतमधिकर्तुमवप्लुतो रथस्थ:
धृतरथचरणोऽभ्ययाच्चलद्गु-
र्हरिरिव हन्तुमिभं गतोत्तरीय: ३७

अर्जुनका रथमा वस्नु भएका भगवान मेरो प्रतिज्ञालाई सत्य सावित गर्न, एक्कासि रथवाट तल ओर्लिनु भयो, रथका पाङ्ग्रा लिएर रिसाएर आफ्नो मानिसको लीलापनि ध्यान नदिएर, कदम कदममा पृथ्वीलाइ कम्पायमान गर्दै, हाती मार्न झम्तिएको सिंह झैँ म तिर दौडिनु भयो, त्यति खेर वहाँको ओड्ने वस्त्र पनि जमिनमा खसी सकेको थियो।  त्यस्ता मुकुन्द मलाई प्राप्त होस्। 

शितविशिखहतो विशीर्णदंश:
क्षतजपरिप्लुत आततायिनो मे
प्रसभमभिससार मद्वधार्थं
भवतु मे भगवान् गतिर्मुकुन्द: ३८

जो म (आतातायी ) को वाणबाट आहत , जसको कवच क्षतविक्षत भएको थियो, जो अर्जुनले प्रार्थना गर्दा गर्दै पनि नसुनेर मेरो प्राण हर्न अगाडी आउनु भयो, त्यस्ता भगवान मुकुन्द मलाई प्राप्त होस्। 

विजयरथकुटुम्ब आत्ततोत्रे
धृतहयरश्मिनि तच्छ्रियेक्षणीये
भगवति रतिरस्तु मे मुमूर्षो-
र्यमिह निरीक्ष्य हता गता: स्वरूपम् ३९

जसले अर्जुनको रक्षा गर्नु भयो, जसले एक हातमा वेताको लाठि र अर्को हातमा लगाम सुमाउदा (सारथीको रुपमा) शोभायमान हुनुहुन्थ्यो, योद्धाहरु जसलाई हेर्दै प्राण त्याग गर्दा भगवानको सायुज्य प्राप्त गरे, त्यस्ता भगवान कृष्णमा  प्राण त्याग गर्दै गर्दा पनि मेरो प्रिती रही रहोस।

ललितगतिविलासवल्गुहास-
प्रणयनिरीक्षणकल्पितोरुमाना:
कृतमनुकृतवत्य उन्मदान्धा:
प्रकृतिमगन् किल यस्य गोपवध्व: ४०

सुन्दर चाल, (रास लीला आदिमा विलास, मनमोहक हाँसो, र कृपाकटाक्ष आदि द्वारा जसको भगवानले सम्मान गर्नु भयो, र जो गोपी हरुले गोवर्धन उठाएको जस्ता कर्म हरुको चित्त लगाएर अभिनय गर्थे ति पनि भगवानमा प्राप्त भए।  यस्ता भगवान मा मेरो प्रिती (प्रेम) होस्। 

मुनिगणनृपवर्यसङ्कुलेऽन्त:
सदसि युधिष्ठिरराजसूय एषाम्
अर्हणमुपपेद ईक्षणीयो
मम द‍ृशिगोचर एष आविरात्मा ४१

(भगवान सर्व पुज्य हुनुहुन्छ भन्ने भाव राख्दै, भीष्मजी भन्नु हुन्छ:) प्रसिद्ध मुनि र राजाहरुको बीच युधिष्ठिरको राजसुय यज्ञमा जसको सुन्दरता र महिमा सवैले प्रसंसा गर्दथे, त्यहाँ जसको अग्रपुजा भएको थियो, अन्तर्यामी भगवान, जगतका आत्मा मेरो अगाडी उपस्थित हुनुहुन्छ, यो मेरो अहोभाग्य हो। 

तमिममहमजं शरीरभाजां
हृदि हृदि धिष्ठितमात्मकल्पितानाम्
प्रतिद‍ृशमिव नैकधार्कमेकं
समधिगतोऽस्मि विधूतभेदमोह: ४२

अव म भेदयुक्त मोह बाट मुक्त भएर जन्मरहित भगवानमा लीन हुन्छु, जुन भगवान आफैले रचेको प्राणीको हृदयमा स्थित हुनुहुन्छ, (कसरि?)जसरि सुर्य एक हुदाँ हुदैँ पनि अनेक भएको भान हुन्छ। 

 

संक्षिप्त व्याख्या:

भीष्मजीको  यो स्तुतिमा संसार छोड्ने बेलामा मानिसको मन, चित्त बुद्धि कस्तो हुनुपर्छ भन्ने भावको दर्शन हुन्छ वहाँ भन्नु हुन्छ वहाँले आफ्नो आन्तरिक साधन/क्रियाले आफुँलाई शुद्ध राखेको त्यो मन भगवान कृष्णमा समर्पण गरेको छु भन्नु हुन्छ।  वहाँ युद्ध भुमीमा लडिरहनु भएको , हजारौं हजार मरेका छन्, सवै स्वजनहरुको मृत्यु आफ्नु आँखा अगाडी भएको , स्वयम् वहाँको शरीर विजय (अर्जुन)का वाणले क्षतविक्षत भएको , तथापि वहाँ त्यसबाट आउने भाव बाट आफैलाई मुक्त गर्नु हुन्छ,  शोक हर्षको स्थितिमा कामना रहित आफ्नो बुद्धि (बिचार) लाइ स्थीर गर्नु हुन्छ। त्यस पछि  बाहिरी भित्री स्वरुपको चिन्तन गर्नु हुन्छ माया ग्रहणगरेका तर मायाका वशीभूत नहुने सधैँ आनन्दमय स्वरुपमा रहने भगवान श्रीकृष्णमा ध्यान लगाउनु हुन्छ (हेर्नुस श्लोक ३२ )   त्यसपछि आफ्नो मन त्यहाँ स्थिर गर्न भगवान त्यो वाहिर देखिने  सुन्दर साकार स्वरुपको वर्णन गर्नु हुन्छ भन्नु हुन्छ त्यो कमनीय स्वरुप भएका विजयसखा (अर्जुनका मित्र) संग आफ्नो निष्कपट कामना रहित प्रितीहोस भन्नु हुन्छ।  कस्तो गहिरो भाव यहाँ ! श्रीमद्भागवतको शुरुमै शौनकादि ऋषिहरुले सोधेको दश प्रश्नहरु मध्ये 'मानिसहरुको श्रेष्ठ कर्म केहो' भन्ने प्रश्नको  उत्तर दिने क्रममा सुतजी भन्नु हुन्छ

वै पुंसां परो धर्मो यतो भक्तिरधोक्षजे

अहैतुक्यप्रतिहता ययात्मा सुप्रसीदति ॥६ ::

अर्थात, मानिसहरुको परम कर्तव्य श्रेष्ठ धर्म भनेको भगवान अधोक्षजको भक्ति हो (भजन, किर्तन, यजन) हो त्यस्तो भक्ति अहैतुकी (कुनै कामना रहित) हुनुपर्छ त्यस्तो भक्ति अविरल (अप्रतिहता) रहनुपर्छ जसले गर्दा जसले अन्तरात्मा सन्तुष्ट हुन्छ। 

 भीष्मजीको त्यही भाव अथवा वहाँ निस्काम भक्तियोग मा हुनुहुन्छ।  अथवा डल्लो सुपारी चडाएर १०० डल्ला सुन माग्ने भाव होइन यो।  यो विशुद्ध शरनागतिको भाव , मात्र भगवानको युगल चरण प्रतिको अनुराग (श्लोक ३३)   

 अघिल्ला स्तुतिहरुमा प्रसंग आएको छ।  भगवान भक्तको अधिन हुनुहुन्छ, बशिभुत हुनुहुन्छ।  श्रीमद्भागवतकै ११ स्कन्धको भक्ति सम्बन्धि चर्चा गर्दै उत्तम भक्तको पनि चर्चा गरिएको (यहाँ त्यसलाई दोहोर्याइएन )   यहाँ परम भागवत भीष्मजी आफ्नै प्रसंग कोट्याउदै भक्तको मान राख्न उसको प्रतिज्ञा पूर्ण गर्न भगवान आफ्नै प्रतिज्ञा सम्मानको ख्याल गर्नु हुन्न  भन्ने तर्क अगाडी सार्नु हुन्छ।  महाभारत युद्धमा भगवान कृष्णले हतियार उठाउदिन भन्नु भएको थियो भीष्मजीले भगवानलाई हतियार उठाउन बाध्य पार्ने प्रतिज्ञा गर्नु भएको थियो।  तर युद्धमा भीष्मजी रौद्ररुपले पाण्डव सेनालाइ ध्वस्त पार्न थाले पछि भगवानले रथको पहिया लिएर भीष्मजीमा जाई लाग्नु भएको थियो (हेर्नुस श्लोक ३७-३८) 

 बिभिन्न अवस्थामा भगवानका देखिएका सुन्दर स्वरुपको वर्णन गर्दै वहाँ स्तुति गर्नु हुन्छ कामनारहित/अभिमान रहित  शुद्ध भक्त भाव राख्नु हुन्छ यस्तै भावको बारेमा मध्व (गौडिय सम्प्रदाय) का आचार्य भगवदपाद श्रीचैतन्य महाप्रभु भन्नु हुन्छः
नाहं विप्रो नरपतिर्नापि वैश्यो शूद्रो
नाहं वर्णी गृहपतिर नो वनस्थो यतिर्वा
किन्तु प्रोद्याननिखिलपरमानन्दपूर्णामृताब्धेर
गोपिभर्तुर पदकमलयोर दासदासानुदासः (चैतन्य चरितामृत, मध्य, १३:८०)
अर्थात्, ब्राह्मण हूँ, क्षत्रिय, वैश्य, शुद्र नै हुँ मेरो कुनै वर्ण छैन, मैं ब्रह्मचारी नै हूँ , गृहस्थ या वानप्रस्थ या सन्यासी हुँ मात्र ति निखिल परमानन्दमय उज्जवल पूर्णअमृतसागर, भगवान (गोपीवल्लभ) का दासहरुको दासको पनि दास हुँ।

 

 

 

Author: Krishna Upadhyaya