१०.कुन्ति स्तुति
प्रथम स्कन्द, अष्टम अध्याय
पृष्ठभूमि: परिक्षित महाराजलाइ कसरि शुकदेवजी संग कथासुन्ने संयोग प्राप्त भयो भन्ने शौनकादि ऋषि हरुको प्रश्नको उत्तर दिनेक्रममा परिक्षितको जन्म कथा पनि सुनाउनु हुन्छ। महाभारतको युद्ध पछि भगवान कृष्ण द्वारका फर्किने क्रममा सवै सङ्ग बिदालिने क्रममा हुनुहुन्छ, त्यै बेला अभिमन्यु पत्नी उत्तरा दौडिदै रुदैं मेरो गर्भ वचाउनुहोस् भन्दै भगवान सँग अनुनय गर्छिन। भगवानले रहेको त्यो बालकलाइ ब्रह्मास्त्र बाट जोगाउनु हुन्छ। त्यो ब्र्हमास्त्र गुरु द्रोणपुत्र अश्वाथामाले पाण्डव बंशको अन्तिम बालकको बध गर्न प्रयोग गरेको हुन्छ। यस अघिनै उसले पाण्डव बंशका पाँच बालकहरुको शिरच्छेदन गरेर हत्या गरि सकेको थियो।
भगवानले यसरि उत्तराको गर्भमा रहेको बालक (परिक्षित) लाइ जोगाई सकेर जानं लाग्दा कुन्तिजीले यो प्रार्थना गर्नु हुन्छ। नातामा कुन्तिजी भगवान कृष्णको फुफु हुनुहुन्छ।
श्लोक |
अर्थ |
कुन्त्युवाच |
कुन्ति भन्नु हुन्छ म हजुरलाई नमस्कार गर्दछु, हजुर आध्य इश्वर माया (प्रकृति) बाट पर हुनुहुन्छ, सवै जीवको भित्र र बाहिर हुनुहुन्छ तै पनि दृश्यमान हुनुहुन्न (देखिनु हुन्न।) |
मायाजवनिकाच्छन्नमज्ञाधोक्षजमव्ययम् । |
(किनभने) हजुर मायारुपी पर्दाले छोपिनु भएको छ, अज्ञानी हरुको दृस्टी पुग्ने सीमा भन्दा पर हुनुहुन्छ र कलाकार नाट्य परिधानमा हुँदा नचिनिए जस्तै हजुर चिनिनु हुन्न। |
तथा परमहंसानां मुनीनाममलात्मनाम् । |
त्यसरी नै मननशील र रागादि वाट मुक्त मुनिजन हरुले त चिन्न/बुझ्न सक्दैनन भने भक्तियोगको स्थापनार्थ अवतिर्ण हुनुभएका हजुरलाई, हामी स्त्रीहरुले कसरि चिन्न/बुझ्न सक्छौ र! |
कृष्णाय वासुदेवाय देवकीनन्दनाय च । |
(त्यो भक्ति योग नजान्ने) म हजुर-- कृष्ण, वासुदेव, देवकी नन्दन, नन्दगोप कुमार, गोविन्दलाई नमस्कार गर्दछु। |
नम: पङ्कजनाभाय नम: पङ्कजमालिने । |
जसको नाभीमा कमल छ, जसले कमलको माला लाउनु हुन्छ, जसका कमल समान आँखा छन्, त्यस्ता हजुरलाई मा प्रणाम गर्छु। |
यथा हृषीकेश खलेन देवकी |
(म माथि हजुरकी माता माथि भन्दा धेरै कृपा छ, किनभने) हे ऋषिकेश (इन्द्रियका नियन्ता), हजुरले कंसको कारागार वाट जसरि पुत्रशोकमा रहनु भएको देवकीलाइ छुटाउनु भयो, त्यसै गरि हे नाथ वारम्वार मलाइ र मेरा पुत्रहरुलाई विपत्ति वाट जोगाउनु भयो। |
विषान्महाग्ने: पुरुषाददर्शना- |
हे प्रभु, हजुरले हामीलाई विष बाट, महाअग्नि बाट, राक्षसहरु बाट, जुवास्थान बाट, वनवासका दुख बाट, महारथीका अस्त्र बाट र अश्वथामाको ब्रह्मास्त्र वाट रक्षा भएको छ। |
विपद: सन्तु ता: शश्वत्तत्र तत्र जगद्गुरो । |
हे जगद्गुरो! हामीलाई वारम्वार विपत्ति आइ रहोस, किनभने त्यै बेला हामीलाई हजुरको दर्शन प्राप्त हुन्छ, अनि (दर्शनको कारणले) जन्म/मरण (संसार) भोग्नु पर्दैन। |
जन्मैश्वर्यश्रुतश्रीभिरेधमानमद: पुमान् । |
(सम्पति/ ऐश्वर्यले मोक्ष मार्गको वाधक हो भन्ने आसयमा:) उत्तम कुलमा जन्मिएको, सम्पति, विद्या, ऐश्वर्यको कारणले जसमा मद्/मात्सर्य आउछ, त्यस्ता मानिसले हजुरलाइ प्राप्त गर्न सक्दैनन, हजुर त् अकिञ्चन (धन आदि कारणले आसक्त नहुने) लाई मात्र दर्शन दिनु हुन्छ। |
नमोऽकिञ्चनवित्ताय निवृत्तगुणवृत्तये । |
जो अकिञ्चन (भक्त ) हरुको सर्वस्व हुनुहुन्छ, जो (धर्म, अर्थ, काम आदि ) विषयी वृत्ति बाट निवृत हुनुहुन्छ, जो आत्माराम हुनहुन्छ, र जो कैवल्य (ऐकान्तिक शान्ति) दिन समर्थ हुनुहुन्छ, त्यस्ता हजुरलाई म नमस्कार गर्दछु। |
मन्ये त्वां कालमीशानमनादिनिधनं विभुम् । |
हजुरलाई म काल्रूरुप मान्दछु (देवकी पुत्र होइन) किन भने हजुर सवैको नियन्ता, आदि-अन्त रहित, सर्वव्यापी, सर्वत्र समभाव राक्ने हुनुहुन्छ। (भगवान द्वैत दृस्टी राख्नु हुन्न त्यसैले कसैको पक्षपोषण गर्नु हुन्न भन्ने भावमा) प्राणि बिचको कलह त उनीहरुकै विपरित बुद्धिको कारणले हुन्छ, हजुरको त्यसमा सम्बन्ध हुदैन। |
न वेद कश्चिद्भगवंश्चिकीर्षितं |
(अर्जुन प्रिय हुनुहुन्थ्यो, त्यसैले पक्ष लिएको भन्ने शंका निवारण गर्ने आशय व्यक्त गर्दै, कुन्ती भन्नु हुन्छ) हे भगवान हजुरको न कोहि प्रिय वा शत्रु छ। मनुष्य जस्तै लिला गरेको कारणले मानिसले बुझ्दैनन् (त्यसैले पक्षपाति ठान्न सक्छन ) । |
जन्म कर्म च विश्वात्मन्नजस्याकर्तुरात्मन: । |
हे विश्वात्मन! हजुर अकर्ता भए पनि कर्म गर्नु हुन्छ, अजन्मा हुँदा हुँदै पनि प्राणी, मनुष्य, ऋषि र जलचरको स्थानमा जन्म लिनुहुन्छ। यो नै आश्चर्य पुर्ण छ। (अथवा, हजुर शुद्द आत्मा हुनुहुन्छ, अवतार लिएर गरेका कर्म त लीला मात्र हुन् ) । |
गोप्याददे त्वयि कृतागसि दाम तावद् |
दहिको भाडो फोरेको अपराधमा यसोदाले डोरीले वांद्धा, हजुरका डराएका आँखा बाट काजलयुक्त आँशु झरेको देखिन्थ्यो। जवकि 'डर' नै हजुर संग डराउछ। यो चै मलाइ अचम्म लाग्यो। |
केचिदाहुरजं जातं पुण्यश्लोकस्य कीर्तये । |
(अवतार को प्रयोजन सन्देह ब्यक्त गर्दै, कुन्ती भन्नु हुन्छ) कोहि भन्छन अजन्मा (भगवान) पुर्ण्यमान राजाहरुको किर्तिवर्धन गर्न जन्मन्छन, अरु भन्छन, यदुका राजा खुशी पार्न जन्मन्छन। हजुर त्यो वंशमा यसरि आउनु भयो जसरि मलायागिरिमा चन्दन आएर त्यसको किर्तिवर्धन गर्दछ। |
अपरे वसुदेवस्य देवक्यां याचितोऽभ्यगात् । |
अरु भन्छन, अजन्मा हुँदा हुँदै पनि वसुदेव देवकीको प्रार्थनाको कारण यहाँ जन्मनु भयो। |
भारावतारणायान्ये भुवो नाव इवोदधौ । |
कसैले भन्छन, पृथ्वीमा पापको अतिभारको कारणले डुब्न लागेको नौका जस्तो भयो, त्यसैले पृथ्वीको भार हर्न (ब्रम्हाजी को प्रार्थनाको कारणले ) यँहा अवतार भयो। |
भवेऽस्मिन् क्लिश्यमानानामविद्याकामकर्मभि: । |
कोहि भन्छन, अविध्या, काम-कर्म वाट दुखमा रहेका मानिस हरुले श्रवण, किर्तन, स्मरण गर्ने उदाहरणीय चरित्र प्रस्तुत गर्न जन्म लिनु हुन्छ। |
शृण्वन्ति गायन्ति गृणन्त्यभीक्ष्णश: |
जसले हजुरको श्रवण, किर्तन, स्मरण गर्दछन, हजुरको चरणकमलमा प्राप्त हुन्छन र पुनर्जन्म-मरण वाट विमुक्त हुन्छन।
|
अप्यद्य नस्त्वं स्वकृतेहित प्रभो |
हे प्रभु! हजुरले आफ्ना सवै कर्तव्य पालन गरि सक्नु भयो। हामि पूर्णरुपले हजुर संग आश्रित हुँदा हुँदै पनि हजुर अव हामीलाई छोडेर जानु हुन्छ, जवकि हामीलाई रक्षा गर्ने कोहि छैन र सवै राजाहरु हामी संग शत्रुवत छन् । |
के वयं नामरूपाभ्यां यदुभि: सह पाण्डवा: । |
हजुरको दर्शनको कृपा नहुने हो भने प्राणिहरुको चेतना शुन्य भए जस्तै पाण्डव र यदुको कर्म र किर्ति पनि अंत हुने छ। |
नेयं शोभिष्यते तत्र यथेदानीं गदाधर । |
हे गदाधर! हजुरका पद चिन्हले हाम्रो राज्य अंकित छ त्यसैले यो अहिले शोभायमान छ, हजुरले छोडेर गए पछि यो त्यस्तो रहने छैन। |
इमे जनपदा: स्वृद्धा: सुपक्वौषधिवीरुध: । |
हजुरकै कृपादृस्टीको कारणले नै नगर र जनपद हरुको सवै हिसाबले श्रीवृद्धि हुदै छ किन भने औषधी, सागपात, वन पहाड, नदि र समुद्र परिपूर्ण छन्। |
अथ विश्वेश विश्वात्मन् विश्वमूर्ते स्वकेषु मे । स्नेहपाशमिमं छिन्धि दृढं पाण्डुषु वृष्णिषु ॥ ४१ ॥ |
हे बिश्वात्मन! त्यसैले मेरा आफन्त हरु पाण्डव र यदु (वृष्णि) संगको मेरो मोह (संबन्ध) छिनाल्दिनु होस् ! |
त्वयि मेऽनन्यविषया मतिर्मधुपतेऽसकृत् । |
जसरि वाधा पन्छाउदै सागर तिर जान्छिन, त्यसरी नै मेरो वुद्धि (मन, चिन्तन) पनि अन्त कतै नगई अनन्यभावले हजुरको प्रितीमा लागि रहोस। |
श्रीकृष्ण कृष्णसख वृष्ण्यृषभावनिध्रुग् |
हे कृष्ण, हे अर्जुनका सखा, हे यादव श्रेष्ठ, पृथ्वीका भार भएका राजाहरुको वंशलाइ अग्निले दाह गरे जस्तै हजुरको प्रभाव कहिल्यै घट्दैन। गौ, ब्राह्मण, देवताका दुख हरण गर्न अवतार लिने, हे योगेश्वर, अखिल गुरु, हे भगवान, हजुरलाई नमस्कार! |
संक्षिप्त व्याख्या:
पहिला चार श्लोक (१८-२२) मा कुन्तिजी भगवानका बिभिन्न स्वरुपको स्मरण गर्दै लौकिक जगतमा भादाहा को साइनो भएको भगवान कृष्णलाइ परम-तत्वको रुपमा प्रार्थना गर्नु हुन्छ। शुरुमै वहाँले भगवानलाइ 'आध्य पुरुष'को रुपमा नमन गर्दै, मंगलाचरणको ब्याख्याको क्रममा उद्धृत गरिएको उपनिषद्को भाव (वेदको भाव) ब्यक्त गर्नु हुन्छ:
सदेव सोम्येदमग्र आसीदेकमेवाद्वितीयम्। (हे सौम्य, यो जगत भन्दा पहिले पनि त्यहाँ एउटा मात्र अस्तित्वमा थियो, कुनै दोश्रो थिएन। ) ।
व्यासजीकै जस्तै वहाँले पनि भगवान माया बाट पर भन्नु हुन्छ (हेर्नुस, मंगलाचरण। कुन्तिजी भगवानको अन्तर्यामी स्वरुपलाइ बुझ्नु हुन्छ र त भन्नु हुन्छ, हजुर भित्र वाहिर, यत्रतत्र विराजमान हुनुहुन्छ, तर देखिनु हुन्न।
यहि विषय महर्षि पराशर मैत्रेयी लाइ बुझाउनुहुन्छ:
“सर्वाणि तत्र भूतानि वसन्ति परमात्मनि। भूतेषु च स सर्वात्मा वासुदेवस्तत: स्मृत:॥ (विष्णु पुराण ६:५:८० )
(अर्थात् उनै परमात्मामा समस्त जीव हरु (भुत) वास्ता छन् र वहाँ आफै आत्मारुपमा सवै प्राणीमा बस्नु हुन्छ, त्यसैले वहाँलाइ वासुदेव पनि भनिन्छ )।
भगवानको गुणको गुढ रहस्य छ। एकातिर कुन्तिजी भन्नु हुन्छ भगवान माया बाट विमुक्त हुनुहुन्छ, अर्को तर्फ दोश्रो श्लोकमै भन्नु हुन्छ, भगवान मायाको आवरणमा भएकोले देखिनु हुन्न (अनुभव गर्न सकिन्न भन्ने भावमा बुज्दा पनि भयो)। माया भगवान भन्दा माथि वा धेरै प्रभावशाली भएकोले भगवानलाई उसको पर्दाले छेकेको होइन, जीव (काम, क्रोध, लोभ, मोह, मद्, मात्सर्य आदिको कारणले) मायामा हुन्छ त्यसैले परमात्मालाइ अनुभव/प्राप्त गर्न सक्दैन। भगवान स्वयम् पनि आफ्नो योगमायाको द्वारा मायाको संचार गर्नु हुन्छ। त्यसैले मायाले भगवानलाइ छेक्ने होइन, जीव मायाको प्रभावमा हुन्छ। यदि मायाले भगवानलाइ छोपी दिने हो भने त माया र भगवान दुइ अलग अलग स्वतन्त्र तत्व हुन्थ्यो,(द्वैत तत्व) हुन्थ्यो। भगवानको सर्बोच्चतामा प्रश्न हुन्थ्यो। तर त्यस्तो होइन, कुन्तिजी बढो विद्वता पुर्ण तरिकाले भन्नु हुन्छ, कलाकारले भेष बदल्दा नचिनिएको जस्तो, 'कलाकार' (लीलापुरुष' भगवान) आफै नाट्यधरको भेषमा आउँनु हुन्छ--अर्थात वहाँ आफै माया चलाउनु हुन्छ (त्यसैले अनुभव गर्न/ दर्शन गर्न दुर्लभ छ)। लीलास्वरूपमा भक्तियोग स्थापना गर्न अवतरित भगवान कृष्ण (अवतार एक अर्थमा, भगवानको नया कलाकारको भेषमा आएको स्वरुप न हो) लाइ 'ज्ञानी मुनि गणले त चिन्दैनन् भने म कसरि चिन्न सक्छु र' भन्नु हुन्छ विनित भावले (तर चिनि रहनु भएको छ नि, त्यसैले भक्त संग भगवान सुलभ पनि त् हुनुहुन्छ भन्ने भाव आउँछ यहाँ )। त्यसैले त भदाहाको रुपमा उभिएका कृष्णलाई प्रार्थना गर्नु हुन्छ, प्रपन्न भावले। त्यो भक्तको भाव हो। अझ बिचित्र भाव के हो भने, म चिन्न सक्दिन भन्दै परास्वरूपको गुणानुवाद गर्दै, अगाडि उभिएका कृष्ण पनि त्यै परमतत्व हो भन्ने भाव उजागर गर्नु हुन्छ। वहाँ भन्नु हुन्छ म कृष्ण, देवकीनन्दन, नन्दगोप कुमार, गोविन्दलाई प्रार्थना गर्छु। यहाँ सम्म आइपुग्दा वहाँ भगवानका स्वरुपको गान गर्नु हुन्छ। भगवानका गुणानुवाद गर्दै परस्वरुप देखि अवतरित हुनुभएको कृष्णको साकार स्वरुपको बर्णन गर्नु हुन्छ।
साकार स्वरुप नदेखुञ्ज्याल कल्याण कसरि कहाँ बाट अनुग्रह भयो भन्ने ज्ञान र भाव जीवमा आउदैन। त्यसैले भगवानका अनन्त कल्याणकारी गुणको बर्णन साकार स्वरुपको बर्णनमा मात्र हुन्छ।
कुन्तिजी त्यही गर्नु हुन्छ ( हेर्नुस, श्लोक २३-२९)। आफ्नी माता देवकी भन्दा आफु माथि भगवान कृष्णले वढी कृपा र करुणा बर्साएको भाव राख्नु हुन्छ (हेर्नुस, श्लोक २३-२)। आर्त भाव, दैन्य भाव राख्नु हुन्छ। यस्ता भाव भक्त, भागवत, वैष्णव भाव हुन्। त्यसैले दुख हरण भन्दा भगवत दर्शन वहाँको निम्ति महत्वपूर्ण छ। त्यसैले दुख पर्दा मात्र आफुले भगवानको दर्शन पाएकोले दुख आइ रहोस भन्ने कामना गर्नु हुन्छ। किनभने, कुन्ती भन्नुहुन्छ, दर्शन भए पछि यो भव दर्शन हुदैन, अर्थात् फेरी जन्मने फेरी मर्ने क्रम बाट जीव मुक्त हुन्छ। कुन्तिजीको त्यो अकिञ्चन भाव राख्नु हुन्छ किन भने ऐश्वर्य आदिले मद्, मात्सर्य ल्याउछ (अर्को अर्थमा माया आच्छादित हुन्छ ), त्यसले दर्शन (भागवत प्राप्ति) भगवत प्राप्तिको बाधक हुन्छ अर्थपंचकमा वर्णित पाँच प्रकारका (भगवान प्राप्तिका) बिरोधि तत्व मध्य पहिलो विरोधी तत्व हो 'स्वरुप बिरोधि' जसको कारण मानिसमा अज्ञानतावश शरीरलाइ आत्माको रुपमा बुझने, आफुलाई भगवान बाहेक अरु कसैको दाश मान्ने, र आफु (आत्मा) लाइ स्वतन्त्र रहेको बुझ्ने। आफुलाई स्वतन्त्र सम्झिने प्रवृतिले नै मानिसमा क्रोध, मद्, मात्सर्यको प्रकट गर्दछ। यी मायाका स्वरुपनै मायाका पर्दा हुन् र भगवद दर्शनको निम्ति पर्दा जस्तै बाधक हुन्छन, भगवत प्राप्तिको बाधक हुन्छ। कुन्तिजी प्रार्थनामा यहि तथ्यलाई इंगित गर्नु हुन्छ।
वहाँ प्रार्थना गर्दै भन्नु हुन्छ (हेर्नुस श्लोक २७) भगवानको 'सर्वस्व' हूनुहुन्छ (अर्थात्, एक मात्र आश्रय हुनुहुन्छ ) अर्थात् कुन्तिजीले भगवानलाइ आफ्नो हृदयमा विराजमान गराउनु भएको छ, किन भने वहाँ हृदयमा भगवानको स्मरण गरि रहनु हुन्छ। भगवान नारद्जी लाइ भन्नु हुन्छ: हे नारद, म न त वैकुण्ठमा बस्छु, न त योगी हरुको हृदयमा बस्छु। भक्त हरुले जहाँ भजन गर्दछन, म त्यहि बस्दछु । यथा:
नाहं वसामि वैकुंठे योगिनां हृदये न च |
मद्भक्ता यत्र गायन्ति तत्र तिष्ठामि नारद || (पद्मपुराण उत्तराखंड:१४:२५ )
कुन्तिजी प्रार्थना गर्दै भगवानको अर्को साकार स्वरुपमा रहने भगवानको कर्म मात्र देखाएर भन्न मिल्ने विषय उठाउनु हुन्छ: भगवान विषयवृति बाट निबृत हुनुहुन्छ (भनेको, ति बिषयमा भगवान प्राप्त हुनुहुन्न ), भगवान आत्माराम हुनुहुन्छ (स्वयम्मा रमण गर्नु हुन्छ), र कैवल्य (ऐकान्तिक शान्ति ) दिनु हुन्छ। स्मरण रहोस, 'कैवल्य' मुक्ति होइन, मुक्ति पथको साधन मात्र हो (यसको चर्चा पछि गरिने छ )। कुन्तिजी भगवानले द्वैत्व भाव (भेद भाव ) राख्नु हुन् भन्ने भाव पनि प्रार्थनामा ब्यक्त गर्नु हुन्छ। कुन्तिजीको ब्रह्म ज्ञान त् हेर्नुस! यहि कुरा श्रीमद्भागवतको सप्तम स्कन्दको पहिलो अध्यायमै भगवान द्वैत भाव राख्नु हुन्न भन्ने विषयमा शुकदेवजी परिक्षितलाइ नारद युधिष्ठिर सम्बादको माध्यम वाट बुझाउनु हुन्छ, त्यसको विषद चर्चा यहाँ गरिएन, तर भगवानले आफुलाई प्रेम र श्रद्धा पुर्वक स्मरण गर्नेलाइ मात्र होइन द्वेष र कामभाव ले नै भए पनि सम्झी रह्यो भने तिनीहरु माथि कृपा गर्नु हुन्छ भन्ने उदाहरण नारदजी दिनु हुन्छ। । वहाँ भन्नु हुन्छ: काम भावले गोपी हरुले, भयको कारणले कंसले, शिशुपाल आदि राजाहरुले द्वेषको कारणले, सम्बन्धको कारणले वृष्णी बंशका ले, स्नेहका कारणले तपाइँ (पाण्डव) हरुले, र भक्तिको कारणले हामीले भागवत प्राप्त गरेका छौँ। (यहाँ 'काम' लाइ कामना को अर्थमा लिऊ, वासनाको भावमा होइन)
यथा:
गोप्य: कामाद्भयात्कंसो द्वेषाच्चैद्यादयो नृपा:।
सम्बन्धाद् वृष्णय: स्नेहाद्यूयं भक्त्या वयं विभो॥ ७.१.३१ ॥
कुन्तीजी भगवानको अवतारका थप प्रयोजनको बताउनु हुन्छ(हेर्नुस श्लोक ३०-३६)। अवातारको प्रयोजनको वारेमा गीतामा भगवान स्वयम् भन्नु हुन्छ: साधु सन्तहरुको त्राणको निम्ति, दुष्टहरुको विनाशको निम्ति, र धर्म स्थापना गर्नलाइ म विभिन्न युगमा अवतरित हुन्छु।
यथा:
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय संभवामि युगे युगे।।गीता:४:८।।.
तर यहाँ कुन्तिजीको स्तुतिले भगवानको बचनलाइ अझ ब्याख्या गर्दछ। साधु धर्मात्मा हरुको रक्षार्थ, दुराचारी हरुलाई नाश गर्न र धर्म रक्षार्थ मात्र त भगवानको संकल्प मात्र नै पुरा हुन्थ्यो तर प्राणी मात्रको लागि श्रवण, किर्तन, स्मरण आदिको परम्परा वसाउदै धर्मको रक्षा र मनुष्य माथि करुणा गर्दै मुक्तिको मार्ग देखाउने पनि अवतारको प्रयोजन भएको प्रस्ट गर्नु हुन्छ।
वहाँ भन्नु हुन्छ, राजा हरुको किर्तिवर्धन गर्न, देवकी वसुदेवको प्रार्थनाको कारण, ब्रह्मादि देवता हरुले भुभार हर्न गरेको प्रार्थनाको कारणले, (श्लोक ३५) श्रबण, किर्तन, स्मरण, आदिको उदाहरणीय चरित्र प्रस्तुत गर्दै अविद्या, कर्म-वन्धन वाट दुखि जन हरुलाई मुक्ति दिन भगवान धरामा अवतरित हुनुहुन्छ। किन भने श्रवण किर्तन गरे पछि जीव हरु मुक्त हुन्छन (श्लोक ३६)। कुन्तिजीको यो भाव परम ज्ञानी शुकदेवकै जस्तो छ। शुकदेव भगवानको प्रार्थना गर्दै भन्नु हुन्छ: जसको किर्तन, स्मरण, दर्शन, बन्दन, श्रवण र पुजन गर्नाले मनुष्यको पाप तत्काल नाश हुन्छ, ति (सुभद्रश्रवस) भगवानलाइ म नमस्कार गर्दछु।
यथा:
यत्कीर्तनं यत्स्मरणं यदीक्षणं
यद्वन्दनं यच्छ्रवणं यदर्हणम् ।
लोकस्य सद्यो विधुनोति कल्मषं
तस्मै सुभद्रश्रवसे नमो नम: ॥ श्रीमद्भागवत २.४. १५ ॥
भगवान नहुदा रक्षा गर्ने कोहि हुदैन (श्लोक ३७), प्राणीहरु चेतानाशुन्य हुन्छन (३८), नगर सुन्दर हराभरा रहने छैनन् (३९), भन्दै भगवान नहुदा माया मात्र रहन्छ भन्ने भावमा वहाँ पाण्डव र यदु बंश संग मेरो संबन्ध (मोह) छिनाल्दिनुस, किन भने यो भगवद प्राप्तिको निम्ति वाधक हो भन्नु हुन्छ। म त हजुरको चरणमा प्रिती रही रहोस भन्ने कामना गर्छु। यहि भाव अर्थपंचक को छ। मोह पनि स्वरुप विरोधी तत्व हो, भगवत प्राप्तिको वाधक तत्व हो।
अन्तमा, अर्जुनका सखा, अखिल गुरु, दुख हरण गर्ने योगेश्वर लाइ प्रणाम गर्नु हुन्छ। यसो गरि रहदाँ, कुन्तिजी भगवान जगदगुरुको भावमा हेर्नु हुन्छ, सवै ज्ञानको श्रोतको रुपमा हेर्नु हुन्छ। अतिशय ज्ञान भगवानका षट्गुण मध्य एक हो।