पशुपति क्षेत्रमा हाल कोटीहोमको चलिरहेको छ। आयोजना मानव सेवा आश्रम नामक परोपकारी संस्थाको सहयोगार्थ भनिएको छ। यसको उद्देश्य ललितपुर र भक्तपुरमा बालिका र बृद्धहरुको आश्रम निर्माणार्थ सहयोग गर्ने भनिएको छ। कोटिहोममा मानिसहरुको भीड लागेको छ। यहाँ यज्ञादि सहित श्रीमद्भागवत लगायत धेरै पुराणहरुको पनि आयोजन भएको छ। उल्लेख्य केहो भने यस पाली व्यासपिठमा राधिकादाशी सहित भारत बाट आउनु भएकी देवी प्रतिभा लगायत अन्य विदुषीहरु हुनुहुन्छ। कोटिहोमको परिघटना धार्मिक दृष्टिले आफैमा एउटा महत्वपूर्ण आयोजन त् हुदैँ हो तर यो विवाद रहित बनेन।
यज्ञ (कोटिहोम आदि ) आदिको आयोजनमा सामुहिकताको भाव हुन्छ। हिन्दु धर्ममा यसलाई विश्वकल्याणको निम्ति भन्ने भावले गरिन्छ। विश्वकल्याणको आराधना सहित प्रत्यक्ष सेवापनि यसको उद्देश्य हो भन्ने कोटिहोमका आयोजक हरुको संदेश छ। यसको थप महत्व त्यसैमा छ। केहि कालदेखि नेपालमा बिबिध सामाजिक कार्य र परियोजनाको लागि पुराण आदिको आयोजन हुदैँ गरेका छन। त्यसैले यो आयोजन त्यस्तै उद्देश्यले गरिएको भनेर आयोजक हरुले भनि रहेको देखिन्थ्यो। यसमा असहमत हुने कुनै कारण देखिदैन त्यसैले त्यहाँ आउने विशाल जन समुदाय आस्थाको कारणले आयो, त्यहिँ कथा सुन्यो, संगसंगै नाच्यो र भावातिरेक भएर कथागङ्गामा डुबुल्कि लगाएको दृश्य देखियो, बिशेष गरि, विदुषी देवी प्रतिभाको कथामा। अनि सक्दो सहयोग पनि गर्यो।
म यति टाडा बसेको मानिस, न आयोजकलाइ व्यक्तिगत रुपले चिन्छु, न त कुनै कथा बाचकलाइ। त्यसो त नचिनेको भन्न पनि मिल्दैन। यसपालि कोटीहोमको चर्चाको शिखरमा रहेकी विदुषी प्रतिभा उनकै चर्चाको कारणले 'चिनजान' भएको अनुभव गरेकोले नै यो आलेख ल्याउने जाँगर चलेर आयो। मैले उनको नाम पनि सुनेको थिइन । यस अगाडी भारतका जया किशोरी र चित्रलेखालाई बाचकको रुपमा संजालमा देखेको पनि हो, तर त्यतिकै प्रख्यात विदुषी प्रतिभाको परिचय मलाई यो कोटिहोमले गरायो।
यहि क्रममा पत्रकार जीवराम भण्डारीले लिनु भएको देवी प्रतिभाको अन्तरबार्ता पनि हेरेँ। अन्तर्वार्ताको लागि मैले व्यक्तिगत रुपमा भण्डारीजीलाई मेसेन्जर बाट धन्यबाद पनि भने। कारण अनेक छन। त्यो अन्तरबार्तामा उनि धर्मको वारेमा स्पस्ट बताउछिन : विशेष गरि दया, प्रेम, अहिंसा, र सत्यको बारेमा। अर्को एउटा अन्तरबार्तामा उनको सचेतनताको परिचय दिन्छिन। अन्तर्वार्तामा दुइ मध्ये एउटा चित्र छान्नु पर्ने हुन्छ। आपनो भाव अनुसार छान्दै जान्छिन। छान्दा बोल्न र व्याख्या नगरी छान्नु पर्ने भनिएको हुन्छ। जव भगवान राम र भगवान कृष्णको चित्र देखाएर छान्न भनिन्छ, उनि म बोलेर भन्छु भनिन, एउटा हिन्दी दोहा भन्छिन, र राम र कृष्ण एक हुन कुनै फरक छैन भन्छिन, एउटै परम तत्व हुन् भन्छिन, र एउटै परम तत्वको दुइ स्वरुप मध्ये उनका आराध्य कृष्ण स्वरुपमा छन् त्यसैले कृष्णलाइ छाने भन्छिन। मैले प्रकाण्ड विद्वान हरुले फरक नाम भएको ब्रह्मको नाम आउँदा आफनै आराध्यको नाम लिएर बयान गरेको सुनेको छु। यहाँ उनको संबेदनशिलता र सरल ब्याख्या आफैंमा त्यसैले महनीय छ।
त्यसपछि कोटिहोमको प्रवचन हेर्नु भन्दा पहिले उनका मध्यप्रदेश, बिहार, र छत्तीसगढमा भएका बाचन हेरेँ । कारण उनि हिन्दीमा सहज बोल्छिन, र ति हिन्दीभाषी महिला र पुरुषहरुको अगाडी बाचन गरि रहेकी हुन्छिन। उनि त्यहाँका धार्मिक परमपरामा धेरै भिजेकी छन। अरु दुइ प्रख्यात वाचिका जयाकिशोरी र चित्रलेखाको जस्तै छन् उनका प्रस्तुति। अझ उनले त कथा भनि रहँदा मूलग्रन्थ (संस्कृत) श्लोकको धेरै उदृत गर्छिन महानीय स्वर र लयमा। प्रकाण्ड विद्वान राघवाचार्यजीले गरे जस्तो श्लोकहरु बुझाउन वेद, उपनिषद् वा अन्य पुराणहरुकोको सहारा लिन्नन तर तुलसीकृत रामचरित मानसको प्रसंग ल्याएर बुझाउन चुक्दिनन। अनौठो आत्मविश्वास देखिन्छ, उनको कान्तिमय अनुहारमा। समग्रमा महिलाहरुमा उनको कथाको सम्मोहन हुने मात्र होइन आफुँ अगाडी आफुँ जस्तै बसेर कथावाचन गरि रहंदा उत्सुकतापुर्वक सुनीरहेको देखिन्छन। अझ ध्यानले सुनीरहेको देखिन्छन उनका सुमधुर संकिर्तन। काठमाडौँमा अलिक फरक थियो त्यो संकिर्तन। त्यो नेपाली लोकलयमा थियो र सवै उपस्थित आनन्दमा नाचीरहेका थिए। नाच्न त सवै नाची रहेका हुन्छन अरु बेला पनि। तर यहाँ नाच प्राकृत प्रेमगीत थिएन।
कथावस्तुमा प्रवेश गर्दा पनि भारतमा गरे जस्तै संस्कृत पंक्तिको उधृत गर्छिन र सरल भाषामा व्यवहारिक विषय निकालेर व्याख्या गर्छिन। उनका सरल संदेश दोहोरी रहे: अहिंसा, प्रेम, दया, दान, सत्य। कथाको प्रसंग जोड्दै कहिले कहिले धर्मसंग सिधै नजोडिएका तर परम्परागत बिषय पनि आए। जस्तै, जन्मदिन कसरि मनाउने। नेपालमा पश्चिमेली आयातित प्रयोगलाइ आधुनिक भनिन्छ कतिपय विषयलाइ। आधुनिक जन्मोत्सव यस्तै एउटा विषय हो । त्यसमा उनको व्याख्या थियो दिप बाल्नु पर्नेमा मैन वत्ति निभाइन्छ, उनले ब्याख्या गरेको परम्परा अनुसार दियो बालेर शुभकर्म शुरु गरिन्छ, निभाउदा त् अपसकुन पो हुन्छ। त्यसैले, उनको तर्क थियो, दियो वाल्नु पर्यो।उनले पुर्वकै अर्को आधुनिक पक्ष भन्छिन, केक काटेर बत्ति निभाउनु भन्दा रुख रोपौँ।
साच्चैनै, प्रत्येक जन्मदिनमा प्रत्येकले रुख रोपेर वातावरणीय संरक्षणमा लाग्दा के आपत्ति हुन्छ? र कसलाई?
अर्को पक्ष जुन समुदायमा, पिडित र पीडकमा 'अभियन्ता' हरु पुग्छन र त्यहाँ उनीहरुले सवैलाई कुरा वुझाउँन सक्दैनन्, किन भने उनीहरुका 'लाभान्वित' समुह 'धर्म भीरु' छन, तिनीहरुलाई कुनै धार्मिक प्रवचनगर्नेहरुले मात्र भनेको लाग्छ। त्यसैले त 'अभियन्ता' हरुलाई 'गुरु' र 'धामी झाँक्री' को प्रयोजन हुन्छ 'लाभान्वित' समुदायलाइ कुरा बुझाउन। यस पालि देबी प्रतिभाले त्यो काम गरेकी छन। पण्डालमा कथा सुन्ने हजारौं श्रोता र संसारभरि संजालबाट हेरीरहेका मानिसहरुलाई 'सवैको रगत एउटै हुन्छ, कोहि सानो ठुलो छैन, सवै नेपाली बराबर हुन्' भन्ने संदेश स्पस्ट शब्दमा दिईन। यो आफैमा ठुलो विषय हो। यो अबिभेदको बिचारलाइ प्रवर्धन गर्ने संदेश हो। त्यो पनि अरुले भन्दा नसुन्ने भनिएको समुहमा।
उनले बोल्दा आउने हिन्दी मिश्रित नेपाली भाषाको वारेमा भने प्रतिकृया आए। बोल्दा उनी हिन्दी आए पछि तुरुन्तै नेपाली शब्दको खोजिमा हुन्थिन अनि दोहोर्याउथिन। हिन्दी सिनेमा हेरेर दिन काट्नेहरुको लागि यो नबुझिने छदैं थिएन। त्यै पनि कोहि कोहिले बिरोधको स्वर निकाली हाले। नेपालीको रगरगमा बिरोध छ। अझ बिरोधगर्नेहरु (सामाजिक संजाल हेर्दा) आफुँ बोल्दा like like भन्दै बोल्नेहरु थिए धेरै। एउटा नेपालीले हिन्दीमा बोल्दा पनि त त्यस्तै हुन्छ भन्ने भाव उनीहरुमा आएको देखिदैन।
यसरि उनले पाएको प्रेम र सम्मान, उनको वारेमा आएको चासो र विरोधका केहि संरचनात्मक र वैचारिक पक्ष छन। त्यसको छोटो चर्चा अनिवार्य हुन्छ। यो आलेखको मूल आसय पनि त्यै हो।
१. पहिलो बिरोध त शास्त्रचार भित्रकै कुरा भए। कोहि कोहिको मत थियो, सुर्य दक्षिणायण भएको वेलामा कोटिहोम जस्तो पवित्रकार्य गरिनु हुन्न। अर्को मत के हो भने व्यवहारिक र गृहस्थ विषयहरु जस्तै, विवाह, ब्रतवन्ध, गृह-प्रवेश जस्तो कार्यमा पो यो सान्धर्विक हुन्छ, भगवत चर्चा कुनै वेला पनि उत्तम हो। यो तर्क सरल तर सवल शास्त्रीय भावमा आधारित छ। यसले भन्छ:
तदेव लग्नं सुदिनं तदेव ताराबलं चंद्रबलं तदेव । विद्याबलं दैवबलं तदेव लक्ष्मीपते तेंघ्रियुगं स्मरामि।।
(भावार्थ: त्यो लग्न (मुहूर्त ) शुभ हुन्छ, तारावल , चन्द्रवल , बिद्यावल , देववल त्यहाँ हुन्छ जतिखेर भगवान (लक्ष्मीपति) को चरणकमलको स्मरण गरिन्छ।)
यहि भावमा कोटीहोम हुन्छ। जसलाई अशुभ लाग्छ, उनीहरु यसको सवै पक्षको कमजोरी खोज्न थाल्छन। यसका अन्य पक्षको विरोध पनि हुन थाल्छ। शास्त्रीय परम्पराको तर्क अगाडी सार्दै महिलाहरु व्यासपीठको अधिकारी नभएको भन्दै विरोध शुरु भएको छ। यो चपेटामा विदुषी देवी प्रतिभा पनि परिन। स्मरण रहोस, हिन्दु भित्रका सवै परम्परा भित्र यस्तो बिचार छ र यो परम्परा भित्रकै विदुषीहरु व्यास पिठमा वसेका पनि छन। देवी प्रतिभा र चित्रलेखा दुइ अलग वैष्णव परम्पराका हुन्, त्यहिँ भित्र महिलाहरु व्यासपीठका अधिकारि हुदैनन भन्ने पनि छ। नेपालमै पनि काभ्रेकै शंकरमतका दुइ विदुषी दिदि बहिनी मज्जाले कथा भन्नु हुनुहुन्छ, त्यहाँ भित्र पनि महिलाहरुलाई व्यास पिठमा वस्नु हुदैन भनिन्छ । तर सवै सवै परम्पराभित्र गुरुको आदेश महत्वपूर्ण हुन्छ। यी सवै विदुषीहरु गुरुबाट शिक्षा पाएका हुन् र गुरुहरुको अनुमति र आज्ञा विना व्यासपिठमा बसेका होइनन। गुरु आज्ञामा गरेका कर्म अशास्त्रीय मानिदैन। विदुषी प्रतिभाको कथा सार्वजनिक पनि भै सकेको छ। एक वर्षमा पुरागर्नु पर्ने अध्ययन छ महिनामै सकेर, चलन अनुसार आफ्ना पितामातालाइ आफ्नै विद्यालयमा कथा सुनाएको प्रसंग आइ सकेको छ।
त्यसैले अहिले आएको विरोधको एउटा अंश शास्त्रको उदृत गर्दै पुरुष वाचकको वर्चस्वको निम्ति पनि भए जस्तो देखिन्छ ।
२. विदुषी प्रतिभा ब्यासको अधिकारी भइन, एउटा उदारवादी धार हुदैँ। तर उदारवादी समाजको सामना पनि गर्नु परेको छ उनले। हिन्दुमा मात्र होइन, ख्रिस्टिय शास्त्रहरुमा पनि भ्रुणहत्या (गर्भ पतन) र दुराचार सम्बन्धी विषय वस्तु छन। दुराचारलाई कानुन भित्र ल्याइएको छ र यसलाई विश्वासघातको आधारमान्दै वैवाहिक सम्बन्धको अन्त गरिएको छ। तर पनि अझै केहि विकशित मुलुकमा समेत गर्भपतन गैर-कानुनी छ। आधार धर्मलाइ नै बनाइएको छ। आधुनिक मानव अधिकारका दृष्टिले त्यो गलत हो, तर त्यो अध्यावधि छ।
केहि विषयमा हाम्रा शास्त्र मौन छन। त्यो सत्य हो। त्यसैले नेपालमा मात्र होइन, अस्ट्रेलिया, वेलायत, अमेरिका तिर जहाँ विविधखाले मानव सम्बन्ध खुल्लारुपले समाजमा चलेका छन्, त्यहाँका शास्त्र व्याख्याताहरुलाई निकै सकस परेको देखिन्छ। उदाहरणको लागि, एकजना अस्ट्रेलियामुलका गुरु हुनुहुन्छ। वहाँले श्रीवैष्णवहरुको हातेपुस्तक लेख्नु भएको छ। त्यसमा समलैङ्गिकताको प्रसंग उठाउनु भएको छ। किन उठाउनु पर्यो ? किन भने त्यो समाजमा छ। त्यस पुस्तकमा वहाँले भन्नु भएको छ, हाम्रा आचार्य र शास्त्र हरुले यसको चर्चा गर्नु भएको छैन। त्यसको वारेमा त्यति मात्र भन्नु भएको छ। त्यसैले विवादित भएन। तर कसैले अहिले त्यसको चर्चा गर्न कि त शास्त्रको मर्यादा छोड्नु पर्यो कि त कानुन र आधुनिक मानव अधिकारका कुरा। व्याख्याता हरुको लागि यो निकै सकसपूर्ण परिस्थिति हो।
देवी प्रतिभाले पनि घर र समाजमा महिलाहरुको उच्चस्थान हुनुपर्छ भन्ने शास्त्रीय भावलाई अन्तर्वार्तामा त् भनिन र व्यासपिठवाट सम्बन्ध बिच्छेदको कुराको परम्परागत ब्याख्या गरिन, पण्डालमा वसेर कथासुन्नेहरुले सकारेको सुनिन्थ्यो, किन भने उनीहरु शास्त्र सुन्न आएका थिए। उनको तर्क छ सम्बन्ध विच्छेदको वारेमा शास्त्र मौन छ। तर समाजमा अन्य मत पनि हुन्छन। त्यसैले सामाजिक संजालमा विरोध र सुझाव आए। विरोध गर्नेले एक्काइशौं शताव्दीमा पनि यस्तो रुढीबादी विचार आयो भनेर आलोचना गरे। बिरोधको आधार चै देवी प्रतिभाको विचार कानुन सम्मत नहुनु नै हो। उनको मात्र होइन, शास्त्र निष्णात केहि अति लोकप्रिय भारतीय गुरुहरुको प्रवचन पनि यी विषय हरुमा विवादित भएका छन। त्यसैले देवी प्रतिभालाई सामाजिक संजालमा स्नेहपुर्वक सुझावदिनेले पनि अलिक होस् पुर्याएर बोल्ने सुझाव दिए।
उनले सम्बन्ध विच्छेदको वारेमा बोलेको र जस्तै अवस्थामा पनि सहेर वस्नु पर्छ भन्ने तर्कले अभियन्ताहरुले उनिसंग सम्बादमा रहनु पर्ने आवस्यकता देखाउछ। घरेलु हिंसाको दृस्टीकोणबाट उनले विषयलाई शास्त्र सम्मत सम्बोधन गर्न मिल्छ। हेक्का राख्नु उचित हुन्छ, उनको शिक्षा फरक परिपाटिको छ। बबिता बस्नेत र दिल निशानी मगरले हालै लेख्नु भएको लेखहरुपनि यसै तर्कमा आधारित छ। । त्यसैले, बिरोधमा ट्रोल गर्नु भन्दा उनिसंग सम्बादमा रहनुले भविष्यमा उनका संदेशहरु सहजै पाच्य हुने गरि ठुलो समुदायमा पुग्छ भन्ने हेक्का राख्नु उचित हुन्छ। यो नै सवैको निम्ति उत्तम हुन्छ।
३. बिरोधको तेश्रो पक्ष व्यवहारिक छ। देवी प्रतिभाले धेरै पैसा लिन्छिन, उनले किन वडी गार्ड राख्नु पर्यो भन्ने आदि विषय। पैसा लिनु शास्त्र, मानव अधिकार वा कानुन कुनै हिसावले गलत होइन। दक्षिणा (जुन तोकिएर मागिदैन) शास्त्र सम्मत छ। उच्च योग्यता भएकाले अ[फ्नो कामको पैसा लिन पाउछन, त्यतिकै शारीरिक वा मानसिक श्रममा लगाउनु कानुनी अपराध हो। आयोजकहरुले प्रस्ट्याई सकेका छन, देवीले पैसा व्यक्तिगत रुपमा लिने होइन, दक्षिणा वा पारितोषिक उनको ट्रस्टमा जान्छ। यो नेपालमा हुँदा मात्र होइन, भारत भरि कथा भन्दा त्यै प्रकृया अपनाएको हुनु पर्छ। स्वामी राघवाचार्य जस्ता प्रकाण्ड विद्वान आएर पशुपतिमा कथा गर्दा यो पक्ष उठेन। यसले देखाउछ युवा नेपाली हुनु, भारतमा हुनु, एक्कासी नेपालको ठुलो कार्यक्रममा देखिनु र भारतमा प्रख्याति कमाइ सकेको नेपालीको रुपमा धेरै नेपालीले पहिलो चोटी थाह पाउनुले पनि जिज्ञासा धेरै रह्यो र मानिसहरु देबी प्रतिभाका हरेक पक्षको वारेमा जान्न उत्सुक रहे। अनि भुइँमान्छेको जस्तो प्रश्न ठड्याए: कथा भन्दा पैसा लिने?
तर अचम्मको कुरो चै पैसा विदेश गयो भनेर कराउनेहरुले अमिताभ वच्चन देखि अन्य वलिउड कलाकार र अरु आउँदाको खर्चको कुरा गर्दैनन। यो प्रचलन संसार भरि छ। । नेपाली कलाकार वेलायत, अमेरिका जाँदा पैसा नेपाल लिएर आउछन। दोश्रो कुरो, कोटीहोमको अर्को उद्देश्य बालिका र वृद्ध आश्रमको लागि संकलन गर्नु पनि हो। त्यो तहको वाचिका नआउँदा त्यति धेरै रकम उठ्ने पनि होइन। त्यसैले स्तरको पनि कुरा उत्तिकै महत्वपूर्ण छ।
जहाँ सम्म वडीगार्डको सवाल छ, त्यो पूर्णतया निजी मामिला हो। खर्च उनको आफ्नो संस्थाले वेहोर्छ त्यसको निम्ति अरुले टाउको दुखाइ रहनु नपर्ने हो। तर व्यासपिठको छेउमा, गार्डहरु उभिएको त्यति राम्रो भने देखिएको थिएन। यस्तो दृश्य कुनै ठुलठुला प्रवचनमा पनि देखिदैन।
र अन्तमा: रसिलो कथा भन्ने देवी प्रतिभाका अगाडी हजारौं श्रोता हुन्छन। कथाहरुमा प्रत्येक दिन आधी जसो तिनै हुन्छन। अरु आधी जसो नया हुन्छन। लामो समय सम्म श्रद्धापुर्वक कथा सुनेर जे बुझछन त्यो उनीहरुले पालन गर्ने कोशिस गर्छन। उनको मंगलाचरणमा, जो कथा शुरुगर्ने भन्दा अगाडीको प्रार्थना छ त्यहाँ उनि मुक्तिनाथको एक श्लोक भन्छिन,उनका सवै कथाहरुमा। यस्ता विषय कथाका प्रसंगमा आउँछन् पनि। यस्ता विषयहरु संचारका विज्ञापनले आकर्षित नहुने समुदाय भित्र नेपालको विज्ञापन हुन्छ। धार्मिक पर्यटनको संदेश हुन्छ। देबी प्रतिभा जस्ता सवै कथावाचक हरु त्यस अर्थले नेपालको धार्मिक सम्बर्धन गर्न महत्वपूर्ण पात्र हुन्। नेपालको छवि निर्माणको निम्ति उच्च योगदान पुग्छ। त्यसैले एउटा नेपाली विदुषीलाइ परदेशी बनाउने काम नगरी उनलाई पनि नेपाल प्रवर्धन गर्नेगरि स्नेह दिई रहनु उत्तम हो।
शास्त्र सँग त्यति धेरै मतलव नराख्ने तर समानता, विकाश, मैत्री र शान्ति सामाजिक पक्षहरुमा लागिपर्ने हरुले स्वाभाविक रुपमा केहि प्रश्न उठाउँछन। त्यसैले उनीहरु पनि वाचकहरु संग सम्बादमा हुनु राम्रो हुन्छ।